एक मात्र धावनमार्ग तर एक दिनमा ८३७ उडान तथा अवतरण

Posted on by जिज्ञासु घिमिरे

मुम्बइको छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थल विश्वको ब्यस्त विमानस्थलको २९ औं स्थानमा पर्दछ । यसै गरि एक मात्र धावनमार्ग भएका विमानस्थलमा विश्वको सबैभन्दा व्यस्त विमानस्थल हो जहा हरेक ६५ सेकेण्डमा एक विमानले उडान वा अवतरण गर्ने गर्दछ । मुम्बइ विमानस्थलमा दुइ धावनमार्ग छ तर एक समयमा एउटा मात्र धावनमार्ग संचालन हुने गर्दछ या त १२००८ फिट लम्बाइ भएको मुख्य धावनमार्ग (०९२७) वा हरेक हप्ता सोमबार र विहीबार अपरान्ह पछि मुख्य धावनमार्गको मर्मतको क्रममा ९,७६० फिट लम्बाइ भएको दोस्रो धावनमार्ग (१४३२) ।

आर्थिक वर्ष २०१६-१७ मा मुम्बई विमानस्थलले ३,०५,४६५ विमानको संचालनबाट ४,५१,५४,३४५ यात्रुहरूलाई हवाइ सुविधा प्रदान गर्यो । हालको समयमा मुम्बई विमानस्थलले दिनहुँ ८३७ उडान तथा अवतरण सम्पन्न गर्दछ । एक वरिष्ठ हवाई ट्राफिक नियन्त्रकका अनुसार हरेक १३० सेकेण्डमा दुइ विमानले अवतरण गर्दछ भने ति दुइ विमानको अवतरणका बिचमा एक विमानले उडान गर्दछ । सोमबार र विहीबार दिउसोबाट जब दोस्रो धावनमार्गको प्रयोग हुन थाल्छ त्यतिबेला हरेक १५० सेकेण्डमा दुइ विमानले अवतरण गर्दछ भने ति दुइ विमानको अवतरणका बिचमा एक विमानले उडान गर्दछ । मुख्य धावनमार्गमा विमान अवतरण पछि छिटो बाहिर निस्कने दुइ ट्याक्सीवेहरू छन् र दोस्रो धावनमार्गमा छिटो बाहिर निस्कने ट्याक्सीवे छैनन । यसै गरि उडान अघि विमानहरुले पालो पर्खने होल्डिंग पोइन्ट एउटा मात्र रहेको छ ।

भारत जस्तो देशको लागि यो लाजमर्दो कुरा हो किनकी मुम्बइ जस्तो विश्व कै एक प्रमुख शहरको विमानस्थलमा एक मात्र धावनमार्ग छ । तर नेपाल जस्तो देशको लागि यो एक उदाहरणिय कार्य हो । किनकि यहाको एक मात्र अन्तर्रराष्ट्रिय विमानस्थलमा पनि एक मात्र धावनमार्ग छ र उडान तथा अवतरण ज्यादै ढिलो हुने गर्दछ ।

मुम्बइ जस्ता विमानस्थलको संचालन र त्यहाको ट्राफिक व्यवस्थापनको अध्ययन गरि उडान तथा अवतरण समय तालिका पुन समायोजन र विमानस्थलमा केहि संरचनागत परिवर्तन गरेमा हरेक दिन ४०० बढि उडान तथा अवतरण सम्पन्न हुने त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलमा हालको समयमा हुने गरेको ढिलाइलाइ धेरै हदसम्म कम गर्न सकिन्थियो कि ?

1 Comment so far. Feel free to join this conversation.

  1. Nischal Gurung December 7, 2017 at 6:27 pm - Reply

    काठमाडौं उपत्यकाको भौगोलिक स्वरुपको कारण वायुयान उडान गर्दा फन्को लगाएर मात्र उडान गर्नुपर्ने भएकोले यहाँ उडान र अवतरणको वीच अन्य देशको तुलनामा बढी समय लाग्ने गर्दछ । किनभने उडान भएर जाने वायुयान र आगमन हुने वायुयानका वीच सुरक्षित दुरी वा उचाई कायम गर्न यहाँको उडान अवतरण प्रणालीका कारण ढिलाई हुने हो । यदि नेपालमा पनि सम्म भूतरातल हुने हो भने वायुयानले सोझै प्रस्थान र आगमन गर्न सक्दथ्यो र अहिले जस्तो ट्राफिक कन्जेसन हुँदैनथ्यो । यसको एक मात्र विकल्प निजगढमा छिटो भन्दा छिटो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु हो ।

Leave A Response